विश्वकर्माले बनाए विद्युत्बाट चल्ने स्वचालित घन
तनहुँ | कात्तिक १३, २०७९
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा आरन सञ्चालन गर्दै आउनुभएका ५१ वर्षीय रामलाल विश्वकर्माले फलामलाई मार हान्न विद्युत्बाट चल्ने स्वचालित घन बनाउनुभएको छ । फलामको हतियार गाल्न विश्वकर्माले दुई वर्ष पहिले विद्युत्बाट चल्ने स्वचालित घन बनाएपछि उहाँको परिचय अहिले फेरिएको छ ।
फलामलाई आकार दिन घन हान्न बलियो मानिसको चाहिने भएकाले विकल्पका रुपमा स्वचालित घन बनाएको उहाँले बताउनुभयो । “फलाम गाल्न घन हान्नुपर्दा दुई जना चाहिने भयो”, आरानमा घरेलु औजार बनाउँदै गर्नुभएका रामलालले भन्नुभयो, “दिन रात उपाय खोजें र यो मेसिन बनाएँ ।”
मेसिन बनाउन रामलालले मोटर, नट बोल्ट, चेन, पुल्ली, घिर्नी, फलामका पाता र काठको प्रयोग गर्नुभएको छ । मेसिन बनाउन करिब रु ३० हजारका सामान खरिद गरेको उहाँले बताउनुभयो । युट्युब हेरेर बनाएको सो मेसिन तेस्रो पटकको प्रयासमा सफल भएको उहाँले जानकारी दिनुभयो । फलामलाई पातलो बनाउन दुई वर्षदेखि विश्वकर्माले सो मेसिन नै प्रयोग गर्दै आउनुभएको छ । करिब ५० हजार रुपैयाँ खर्च गर्नसके अझ राम्रो र कम आवाज आउने स्वचालित घन बनाउनसक्ने क्षमता आफूसँग भएको उहाँले बताउनुभयो ।
कोइलामा तताएर रातो बनाइएको हतियारलाई पातलो र निश्चित आकार दिनुपर्दा विद्युत् अन गरी दुई वटा घनको बीचमा लैजानु पर्दछ । खुट्टाले थिचेपछि स्वचालित घनले दबाब दिन्छ र घनको चाललाई नियन्त्रण र बन्द पनि खुट्टाबाटै गर्न सकिन्छ । स्वचालित घन प्रयोग गर्दा महिनामा करिब एक हजार रुपैयाँ विद्युत् महशुल उठ्ने गरेको उहाँको भनाइ छ ।
चितवन पदमपुर घर भई हाल घुमाउनेघाट बस्दै आउनुभएका विश्वकर्माले आरन दर्ता गर्नु भएको छैन । आरान दर्ता गर्ने प्रक्रियाबारे आफूलाई केही थाहा नभएको उहाँले बताउनुभयो । निर्वाहका लागि मात्र आफूले आरान सञ्चालन गरेको उहाँ बताउनुहुन्छ ।
करौती, हँसिया, बञ्चरो, खुर्पा र कोदालो बनाउने गर्दै आउनुभएका विश्वकर्माले घरायसी हतियार अरचापेको (धार लगाएको) ५० रुपैयाँदेखि दुई सय रुपैयाँसम्म लिने गर्नुहुन्छ । नयाँ घरेलु हतियारको प्रकारअनुसार चार सय रुपैयाँदेखिमाथि पर्ने विश्वकर्माले बताउनुभयो ।
आफूले घरेलु हतियारको अलावा ट्र्याक्टरको डिब्बालगायत लेथका कामसमेत गर्नसक्ने उहाँले जानकारी दिनुभयो । ठूलो ग्रिल कारखाना सञ्चालन गर्ने उद्देश्य भए पनि आर्थिक अभावमा त्यो पूरा गर्न नसकेको उहाँको भनाइ छ । “ठूलो ग्रिल उद्योग सञ्चालन गर्न आर्थिक अवस्था कमजोर हुँदा सकिन ।” सामान्य लेखपढ गरेका विश्वकर्मा राज्यले केही सहयोग गरेमा आफूले व्यवसायलाई थप विस्तार गर्नसक्ने बताउनुहुन्छ । आरनको कमाइबाट घरको दैनिक जर्गो टार्दै आउनुभएको छ ।
विश्वकर्माको क्षमता, खुबी र लगनशीलता देखेर आफूहरुले घुमाउने घाटमा आरान राख्न करिब एक आना जग्गा निःशुल्क प्रदान गरिएको छ । आफूहरुले हँसियादेखि कुटो कोदालोसम्म बनाउन र अरचाप्न परे विश्वकर्मालाई नै लगाउने गरेको घुमाउने घाटकी ५६ वर्षीया सन्सरी गुरुङले बताउनुभयो । घुमाउने, साराङघाट, मास्दीघाटलगायतका छ÷सात वटा गाउँका बासिन्दाले उहाँको आरनबाट सेवा लिँदै आएका छन् ।
तनहुँ । गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारीको मुख्य स्रोत बनाउने उद्देश्यका साथ तनहुँको बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्ड...
पोखरा: ५ करोड बढीको कारोबार गर्दै १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव शनिबार सकिएको छ । गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ...
पोखरा । तमु जातिको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक उद्गमस्थल मानिने ‘क्होला सोँप्री ट्हो’ को प्रवद्र्धनका लागि तमु प्ये ल्हु संघ युकेले विशेष भ्रमण तथा अन्वेषणमा निस्कने भएको छ । ...

